काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र मात्रै २३ जनाको मृत्यु भएको छ। तीमध्ये ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३ जना, केएमसीमा २ जना र टिचिङ अस्पतालमा १ जनाले उपचारका क्रममा ज्यान गुमाएका छन्।
उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ गरी ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बाँकेमा ज्यान गुमाउनेमध्ये पाँच जना नौबस्तास्थित क्षेत्रीय कारागार र बाल सुधारगृहमा रहेका थिए।
हालसम्म मृत्यु भएका मध्ये ३ जना प्रहरी भएको पुष्टि भए पनि अन्यको विवरण आधिकारिकरूपमा प्रहरीले सार्वजनिक गरेको छैन।
मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १,०३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जना उपचारपछि घर फर्किसकेका छन् भने २५३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।