१५ असोज, काठमाडौं।
नेपालमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले धेरै सरकारी संरचना पूर्णरूपमा ध्वस्त भएपछि सरकारले “भौतिक पूर्वाधार पुनर्निर्माण कोष” स्थापना गरेको छ।
५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गर्ने निर्णयसँगै उक्त कोष खडा गरिएको हो। यसको उद्देश्य सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री तथा राष्ट्रपति निवास, अदालत, प्रहरी चौकीसहित जलेर नष्ट भएका भवन र कार्यालयहरूको पुनर्निर्माण गर्नु हो।
यस अभियानलाई सफल बनाउन अर्थ मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सहयोग गर्न आह्वान गरेको छ। सोही अनुरोधअनुसार कतार, इरान, कुवेत, इजरायल र साइप्रसस्थित नेपाली दूतावासहरूले सूचनामार्फत प्रवासी नेपालीहरूलाई कोषमा योगदान गर्न आग्रह गरेका छन्।

कतारस्थित दूतावासले देशभरका पूर्वाधार ध्वस्त भएको उल्लेख गर्दै आर्थिक पुनरुत्थान र राहतका कार्यमा साथ दिन आग्रह गरेको छ। कुवेतस्थित दूतावासले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको छ भने इजरायलस्थित दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई राष्ट्र पुनर्निर्माणमा सहभागी हुन आह्वान गरेको छ।
यसैबीच, विदेशमा रहेका नेपालीहरूले पनि आफ्नै स्तरबाट कार्यक्रमहरू आयोजना गरी कोषमा सहयोग जुटाउन थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमिप्रतिको दायित्व भन्दै सबै एनआरएन समुदायलाई सक्रिय योगदान दिन अनुरोध गरेको छ। अध्यक्ष महेशकुमार श्रेष्ठले जारी गरेको सूचनामा भूकम्प, बाढीजस्ता विपद् बेला जस्तै यस संकटको घडीमा पनि राष्ट्रलाई साथ दिन आग्रह गरिएको छ।
राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षालाई मजबुत बनाउन एनआरएनएले सुरु गरेको “नेपाल पुनर्निर्माण अभियान” मार्फत प्रवासी नेपालीलाई आफ्नो योगदान दिन आह्वान गरिएको छ।




