काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन अस्थायी रूपमा रोक लगाएको छ। यसबारे आधिकारिक जानकारी भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
नेपालमा रहेका विभिन्न ट्राभल एजेन्सीहरूले सोमबार बिहानदेखि अधिकांश भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन्। यूएई सरकारले भिसा आवेदन अनलाइनमार्फत लिँदै आएको थियो।
एक ट्राभल एजेन्सी सञ्चालकका अनुसार दुबई इमिरेट्सले केही समयदेखि नै भिजिट भिसा कडाइका साथ जाँच गर्न थालेको थियो। दुबईबाट भिसा पाउन कठिन भएपछि धेरै नेपालीले शारजाह इमिरेट्समार्फत आवेदन दिँदै आएका थिए। तर, हाल शारजाहले समेत भिसा स्वीकृति दिन रोकेको छ।

शारजाहमा एक महिनाको भिसा ५५० दिरहम र दुई महिनाको भिसा ६५० दिरहममा दिइँदै आएको थियो, जसमा १ हजार ३० दिरहम डिपोजिट राखिन्थ्यो। तर अहिले अचानक आवेदन नस्वीकृत भएपछि यो कदमलाई अस्थायी प्रतिबन्धका रूपमा लिइएको सरोकारवालाहरूको भनाइ छ।
यूएईका लागि भिसासम्बन्धी काम नेपाल र दुबईमा सञ्चालित ट्राभल एजेन्सीमार्फत हुँदै आएको छ। दुबई इमिरेट्सले यसअघि गत जनवरीदेखि नै भिसामा कडाइ गरेको थियो। साथै, गत सेप्टेम्बरदेखि डिसेम्बरसम्म आममाफी (एम्नेस्टी) घोषणा गरिएको थियो। एम्नेस्टीनंतर दुबईले भिसा कडाइ गर्दा, आबुधाबीले पहिले नै भिसा बन्द गरेको र हाल शारजाहले समेत रोक लगाएपछि नेपालीहरूलाई यात्रा गर्न झनै कठिन भएको छ।
नेपालीहरू ठूलो संख्यामा यूएई भिजिट भिसामार्फत प्रवेश गर्ने गरेका थिए। धेरैले भिजिट भिसामै गएर त्यहाँ रोजगारी खोज्ने र पछि वर्किङ भिसामा रूपान्तरण गर्ने प्रचलन रहेको थियो।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हाल करिब ८ लाख नेपाली यूएईमा कार्यरत छन्, जसमा करिब ७० हजार नेपाली भिजिट भिसाबाट प्रवेश गरी पछि वर्किङ भिसामा रुपान्तरण भएका छन्। केही नेपाली भने भिजिट भिसा प्रयोग गरेर दुबईमार्गै अन्य मुलुकतर्फ प्रस्थान गर्ने गरेका छन्।
यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसा रोकाबारे दूतावासलाई औपचारिक जानकारी नआएको बताएका छन्। तर, त्यहाँ रहेका एक नेपाली अभियन्ताले नेपालमा भइरहेको राजनीतिक अवस्था र यूएईमा बढ्दो नेपाली समस्यालाई ध्यानमा राखेर अस्थायी प्रतिबन्ध लगाइएको हुनसक्ने अनुमान गरेका छन्।
यसअघि दूतावासले नै चेतावनी दिँदै आएको थियो कि, यूएईमा नेपालीहरूको संख्या बढेसँगै ओभरस्टे बस्ने, लागुपदार्थ दुव्र्यसनमा संलग्न हुने र आपराधिक गतिविधि बढ्दै गएको छ। यी गतिविधि रोक्न यूएई अधिकारीहरूले समेत दवाब दिइरहेको र त्यसकै कारण दूतावासले स्थानीय प्रहरीसँग मिलेर जनचेतनामूलक कार्यक्रम चलाइरहेको जनाएको छ।




