संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यसअघि सोमबारदेखि नै नेपालीलाई भिजिट भिसा पनि नदिने निर्णय गरिएको थियो।
नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र कैदी भाग्ने घटनापछि यूएईले यस्तो निर्णय गरेको बताइएको छ। पछिल्लो वर्षहरूमा सबैभन्दा धेरै नेपाली नागरिक भिजिट भिसामार्फत यूएई जाने गरेका थिए।
दुबईका विभिन्न कम्पनीहरूले नयाँ भिसा आवेदन हाल्न नसकिएको र पहिल्यै दर्ता भइसकेका केही भिसासमेत रद्द हुन थालेको जानकारी दिएका छन्। एक सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि पठाएको आवेदन अस्वीकृत भएको जनाएको छ। त्यस्तै, एक वेयरहाउस कम्पनीका प्रतिनिधिले २५ नेपाली श्रमिकका लागि भिसा दर्ता गरे पनि सबै अस्वीकृत भएको बताएका छन्। त्यस्तै, एक क्लिनिङ कम्पनीले पनि १२ कामदारको भिसा अस्वीकृत भएको जनाएको छ। यूएई इमिग्रेसनले नेपालबाट आउने नयाँ भिसा प्रक्रिया नै स्थगित गरेको छ।

कोरियाको ई–७ भिसा बन्द
त्यसैगरी, ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान पाउने व्यवस्था पनि बन्द भएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नहुने जनाएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार उक्त कार्यविधि तत्काल लागू नगर्ने निर्णय गरिएको विभागले स्पष्ट पारेको छ। हाल भने, नेपाली कामदार रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत मात्र कोरिया जान सक्ने व्यवस्था कायम छ।




