संयुक्त अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ता सईद मुसबह अल केतबीले आफूसँग चार श्रीमती र सयभन्दा बढी सन्तान रहेको खुलासा गरेपछि सामाजिक सञ्जालदेखि शैक्षिक क्षेत्रसम्म चर्चा चुलिएको छ।
शारजाह इन्स्टिच्युट फर हेरिटेजमा आयोजित एक कार्यक्रममा उनले आफ्नो जीवनबारे बोल्दै सन्तानलाई अल सना—अर्थात् परम्परागत अमिराती मूल्य र आचरण—बारे शिक्षित गरिरहेको जानकारी दिए। उनले भने, “म सधैं आफ्ना सन्तानलाई परिवारप्रतिको जिम्मेवारी, बडाप्रतिको सम्मान, संस्कृतिको निरन्तरता र परम्पराप्रतिको निष्ठा सिकाउँदै आएको छु।”
कार्यक्रमपछि उनको भनाइ समेटिएको छोटो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। ७० हजारभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा धेरैले उनको स्वास्थ्य र संस्कृतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।
अल सना अमिराती समाजमा पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको मूल्य प्रणाली हो। यसमा पाहुनाको सत्कार, इमानदारी, सहिष्णुता, परिवारप्रतिको समर्पण, अरबी भाषाको संरक्षण तथा परम्परागत अमिराती पोशाकलाई विशेष महत्त्व दिइन्छ। केतबीले आफ्ना सन्तानलाई यी सबै मूल्यमा शिक्षित बनाउन निरन्तर प्रयासरत रहेको बताएका छन्।




