काठमाडौं – शिक्षा मन्त्री महावीर पुनको छोरी विदेशमा अध्ययन गर्न एक करोड रुपैयाँ खर्च गरिएको भन्दै बजारमा फैलिएर आएको समाचारबारे डा. सुनिल शर्माले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै सो खबरलाई पूर्ण रूपमा निराधार, झुट्टा र बदनियतपूर्ण बताएका छन्।
डा. शर्माले आफू प्रत्यक्ष रूपमा यो विषयमा संलग्न भएको अनुभव सार्वजनिक गर्दै भनेका छन्, “यो हल्लामा कुनै सत्यता छैन। महावीर पुन सरजस्ता इमानदार र समाजसेवी व्यक्तिलाई निराधार आरोप लगाउनु अन्याय मात्र होइन, आपराधिक प्रवृत्ति हो।”
उनका अनुसार प्रारम्भमा पुनकी छोरीलाई नेपालकै कलेजमा छात्रवृत्तिमा भर्ना गराउने प्रयास भए पनि सफल हुन सकेन। त्यसपछि उनले सहयोगका लागि आफ्ना साथी डा. नरेन्द्र मिश्रमार्फत ढाकास्थित जहारूल इस्लाम मेडिकल कलेजमा एमबीबीएसमा भर्ना गराइएको उल्लेख गरेका छन्।

छोरीले नेपालकै चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा सहभागी भएर नाम निकालिसकेको र विदेशमा भर्ना हुने प्रक्रियामा कुनै कन्सल्टेन्सी शुल्क नलिएको डा. शर्माले स्पष्ट पारेका छन्। उनका अनुसार एमबीबीएस अध्ययनमा मासिक ६२१ अमेरिकी डलर (करिब ८७,५९१ रुपैयाँ) खर्च हुने र हालसम्म पनि पुनले ५० प्रतिशतभन्दा बढी भुक्तानी तिरेका छैनन्।
डा. शर्माले लेखेका छन्, “यो सम्पूर्ण प्रक्रियामा करिब ४१ हजार अमेरिकी डलर खर्च हुने देखिन्छ। तर, अहिले बजारमा हावादारी रूपमा एक करोड खर्चिएको भन्ने हल्ला फैलाइएको छ, जुन पूर्णतः झुटो हो।”
उनले पुनप्रति लगाइएका आरोपलाई नियोजित बदनाम अभियान भन्दै समाजले सत्यमा अडिनुपर्ने बताए। साथै, महावीर पुनजस्ता देशका लागि समर्पित व्यक्तिलाई निरुत्साहित गर्ने प्रयास असफल हुनुपर्नेमा जोड दिएका छन्।
हाईलाईट
- “महावीर पुन सरको छोरी विदेशमा पढाउन १ करोड खर्च भयो” भन्ने हल्ला पूर्ण रूपमा निराधार – डा. शर्मा
- नेपालमा छात्रवृत्तिमा भर्ना प्रयास असफल भएपछि ढाकास्थित मेडिकल कलेजमा एमबीबीएस अध्ययन
- मासिक शुल्क करिब ६२१ अमेरिकी डलर, अहिलेसम्म आधाभन्दा बढी शुल्क पुनले तिर्न बाँकी
- कन्सल्टेन्सी शुल्क नलिई पारदर्शी रूपमा भर्ना प्रक्रिया सम्पन्न




