राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार साँझ नख्खु कारागार पुगेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लामिछाने कारागार प्रवेश गरेपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। उनले भने, “कागजी प्रक्रिया अगाडि बढिरहेको छ। सुरक्षासम्बन्धी पत्राचार पनि गरिएका छन्।”
यसअघि भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरू नख्खु कारागार अगाडिसम्म पुगेपछि लामिछानेलाई प्रशासनले बाहिर निकालेको थियो। उनले त्यतिबेला कारागारभित्र सुरक्षा चुनौती उत्पन्न भएकाले प्रशासनले आफैं बाहिर ल्याएको दाबी गरेका थिए।
लामिछाने बाहिरिएलगत्तै कारागारभित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए र त्यसपछि अन्य कैदीहरू समेत फरार भएका थिए। सो घटनापछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दी पलायन हुने क्रम बढेको छ। हालसम्म करिब १० हजारभन्दा बढी कैदीबन्दी कारागारबाहिर रहेको अनुमान गरिएको छ।
कारागार विभाग र प्रहरी निकायले फरार कैदीहरूलाई स्वेच्छाले फर्किन आह्वान गर्दै आएका छन् भने पक्राउ परेकालाई पुनः कारागार चलान गर्ने काम भइरहेको छ। नख्खु कारागार प्रशासनले पनि शुक्रबार कैदीबन्दीहरूलाई फर्किन अनुरोध गरेको थियो। यद्यपि लामिछाने भने शनिबार साँझ आफैं कारागार फर्किएका हुन्।




