जापानको चिबा सहरमा बस्दै आएका नेपाली युवक बादल छान्त्यालको मृत्युले सामाजिक सञ्जालमा शोकको लहर फैलिएको छ। टिकटकमा जापानी भाषामा रमाइला भिडियो बनाएर भाइरल भएका उनी आफ्नै जापानी प्रेमिकाको हातबाट ज्यान गुमाएको खबर बाहिर आएको छ।
स्थानीय स्रोतका अनुसार, बादल र ती युवतीबीच केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। तर पछिल्ला दिनमा सम्बन्धमा समस्या देखिएपछि युवतीले अन्तिमपटक भेट्न बोलाएकी थिइन्। भेटका क्रममा विवाद बढ्दै गएपछि युवतीले आक्रोशमा आएर बादलको हत्या गरेको बताइन्छ।
यो घटनाले परिवार, साथीभाइ र चिनेका सबैलाई स्तब्ध बनाएको छ। आमा–बुवाका लागि असह्य पीडाको घडी आएको छ, साथीहरूले एक असल र हँसमुख साथी गुमाएका छन्।“फूललाई पनि के थाहा, भोलि मन्दिर जाने हो कि आर्यघाट,” भन्ने भावपूर्ण शब्दहरूमा उनका निकट साथीहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरेका छन्। अब सबैको माग एउटै छ — बादलका लागि न्याय मिलोस्, दोषीलाई कडा कारबाही होस्।




