नेपालगन्ज, बाँके . बाँकेमा खसी खरिदको विषयमा उत्पन्न विवाद हिंसात्मक झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए।
प्रहरीका अनुसार बिहान जाबिदले खरिद गर्न लागेको खसी अर्को समूहले लैजाँदा विवाद सुरु भएको थियो। त्यसक्रममा ढुंगा प्रहार समेत भएपछि गम्भीर घाइते भएका जाबिदलाई अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा दिउँसो साढे २ बजेतिर उनको ज्यान गएको बताइएको छ।
घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। स्थानीयले झडप सालो–भेनाबीच भएको बताए पनि मृतक जाबिद सटीक रूपमा सालो हुन् वा भेना भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




